बालेनलाई भेटेका पूर्वप्रधानमन्त्री डा. बाबुराम कुलमानसँग नजिकिँदै

बालेनलाई भेटेका पूर्वप्रधानमन्त्री डा. बाबुराम कुलमानसँग नजिकिँदै


काठमाण्डु – नयाँ शक्ति निर्माणका लागि काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग भेटेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ऊर्जामन्त्री कुलमान घिसिङसँग नजिकिन थालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकीकरणमा बालेनसँग छुटेका कुलमानले डा. बाबुराम संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँग चुनावी गठबन्धनको छलफल अगाडि बढाएका छन् ।

प्रलोपा र उज्यालो नेपाल पार्टीले आसन्न चुनावमा सहकार्य गर्नेबारे छलफल थालेका छन् । प्रलोपा अध्यक्ष परिषद्की सदस्य ओजस्वी भट्टराईले सहकार्यबारे छलफल अगाडि बढेको जानकारी दिइन् ।

प्रलोपामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संरक्षक छन् भने उज्यालो नेपालमा मन्त्री कुलमान घिसिङ संरक्षक छन् ।

कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा भित्र्याउने भूमिका खेलेका नेता जनार्दन शर्मा पनि प्रलोपामै आवद्ध रहेकाले दुवै पार्टीलाई नजिक ल्याउन पुरानो निकटताले पनि काम गरेको बताइएको छ ।