काठमाण्डु – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले छोरी मानुषी भट्टराई बेलायत पढ्न गएको प्रमाणित गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भट्टराईलाई छोरीलाई बेलायतमा पढाउने खर्च कहाँबाट आयो भन्दै प्रश्न गरेका थिए ।
ओलीले भनेका थिए– हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’
ओलीको सो भनाईलगत्तै डा भट्टराईले सामाजिक सञ्जालमार्फत ओलीलाई चुनौती दिएका हुन् । साथै उनले पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्न नहुने समेत बताएका छन् ।
उनले भनेका छन्, ‘मित्र खड्गप्रसादजी, पूर्वप्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ बर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला संगै गएर संगै फर्केकी हुन् । त्यस यता उनी वेलायत गएको प्रमाणित गर्नोस् न !’




प्रतिक्रिया