काठमाण्डु- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई जानकारीसम्म नदिई समाजवादी मोर्चा घोषणा गरिएको गुनासो गरेका छन् । बाबुरामलाई छुटाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा चार दलको मोर्चा घोषणा भएपछि उनी प्रचण्डसँग असन्तुष्ट बनेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले समाजवादी मोर्चाको अवधारणा आफ्नो भएको दाबी गर्दै आफूलाई सिध्याउन खोजिएको बताएका छन् । ‘पहिलो, नयाँ शक्ति स्थापना हुँदा निर्वाचन चिन्ह नै नदिनु । दोस्रो, अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसँग ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु ।’
उनले प्रचण्डलाई लक्षित गर्दै यो मोर्चा आकस्मिकतामा घोषणा भएको हो ? भन्दै प्रश्न गरे। विचार मार्न खोजेर नमर्ने उनको तर्क गरेका छन् । त्यस्तै भट्टराईले आफूलाई सिध्याउन खोज्नेहरु आफै सिद्धिने पनि बताए ।
‘तेस्रो, दुई वर्ष अघिदेखि समाजवादी केन्द्र-मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु । के यो सबै आकस्मिकता हो ? कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए, विचार कसैले मार्न खोज्दैमा मर्छ र?’
गत मंसिर ४ गते भएको निर्वाचनमा बाबुरामले आफ्नो निर्वाचन क्षेत्रबाट प्रचण्डलाई चुनाव लड्न दिएका थिए । उनले चुनावमा गोरखा क्षेत्र न.२ मा प्रचण्डको लागि भोग माग्दै गाउँ टोल पुगेका थिए । प्रचण्डले त्यहाँबाट चुनाव पनि जिते । त्यसबेला बाबुरामले आफूले चुनाव लडेनन् । त्यसपछि बाबुरामले समाजवादी मोर्चा बनाउनुपर्ने भन्दै पटक पटक प्रचण्डसँग छलफल गरे ।
अन्तिममा बने प्रचण्डले बाबुरामलाई समाजवादी मोर्चा घोषणा गर्दा जानकारी समेत दिएनन् । बाबुरामलाई समाजवादी मोर्चामा सामेल गराउने प्रचण्डको तयारी भएपनि जसपाका अध्यक्ष उपेन्द्र यादवले नमानेपछि बाबुरामलाई छुटाउनु पर्ने अवस्था आएको हो । समाजवादी मोर्चामा आफूलाई सामेल नगराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित बनेका छन् ।




प्रतिक्रिया