देउवालाई जसपा अध्यक्षको प्रस्तावः हाम्रो समर्थन छ, अघि बढ्नूस्

देउवालाई जसपा अध्यक्षको प्रस्तावः हाम्रो समर्थन छ, अघि बढ्नूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका दुई जना अध्यक्षबीच भेटवार्ता भएको छ ।

मंगलबार बुढानिलकण्ठमा सभापति देउवा र जसपा अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । सरकार गठनका विषयमा जसपाभित्र विवाद भइरहेका बेला दुई जना अध्यक्ष सभापति देउवालाई भेट्न उनकै निवासमा पुगेका हुन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु काठमाण्डु उपत्यकाबाहिर गएको मौकामा दुई अध्यक्ष नयाँ सरकार गठनका विषयमा छलफल गर्न बुढानिलकण्ठ पुगेका छन् । छलफलमा उनीहरुले चाँडै नयाँ सरकार गठन प्रक्रिया थाल्न सभापति देउवालाई आग्रह गरेको स्रोतले जानकारी दियो ।

‘सरकार गठनबारे ढिलाई भइरहेकोप्रति सभापतिज्यूसँग उहाँहरुले गुनासो गर्नुभयो । जसपा नयाँ बन्ने सरकारमा सहभागी हुने भएकाले प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ’, देउवा निकट एक कांग्रेस नेताले भने ।

जवाफमा सभापति देउवाले संसदमा संख्या नपुग्ने भन्दै आधिकारिक निर्णय गराउन जसपालाई आग्रह गरेका थिए ।

भट्टराई र यादव नयाँ सरकार गठन प्रक्रियामा जानुपर्ने अडानमा छन् भने अध्यक्ष ठाकुर समूहले त्यसलाई अस्वीकार गर्दै आइरहेको छ ।

केहीदिन अगाडि देउवाले कांग्रेससहित माअ‍ोवादी केन्द्र र जसपाका नेताहरुसँग सरकारमा जाने विषयमा आधिकारिक धारणा मागेका थिए । जसपाका नेताहरुले पार्टीभित्र आन्तरिक छलफल गरेपछि मात्र जवाफ दिन सकिने बताएका थिए ।

त्यसयता जसपा आधिकारिक धारणा तय गर्न आन्तरिक छलफलमा जुटेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरुले केपी शर्मा अ‍ोली नेतृत्वको सरकारसँग वार्ता भइरहेकाले तत्काल नयाँ सरकार गठनमा जान नमिल्ने बताउँदै आएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री आलीसँग नजिकिएका अध्यक्ष ठाकुर नयाँ सरकारमा जाने विषयमा सकारात्मक छैनन् । उनले प्रधानमन्त्री ओलीले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीलाई रिहा गर्न सकारात्मक भएकाले यही सरकारलाई समर्थन गर्नुपर्ने बताउँदै आएका छन् ।

जसपा नेता राजेन्द्र महतोले जसले माग पूरा गर्छ उसैलाई समर्थन गर्ने बताए ।

उनले भने, ‘विगतमा कांग्रेस, एमाले र माओवादीसँग मुद्दा र माग पूरा गराउन आग्रह गरेकै हौं । तर त्यस बेला कसैले ध्यान दिएन् । अब जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जान्छौं ।’

नेता महतोले सत्ता समीकरणको विषयमा आफ्नो पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताए ।

‘पहिला आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल गर्छौं, नभएमा विकल्पको खोजी गर्छौं,’ उनले भने, ‘कांग्रेसको एजेन्डामा हामीले काम गर्नुपर्छ भन्ने छैन’ उनले भने, ‘हामी आफ्नो एजेन्डालाई अगाडि बढाउँछौँ ।’