बाबुराम र नारायणकाजीको गृहजिल्ला गोरखामा एमाले कमजोर, कांग्रेस र माओवादीबीच सीधा टक्कर

बाबुराम र नारायणकाजीको गृहजिल्ला गोरखामा एमाले कमजोर, कांग्रेस र माओवादीबीच सीधा टक्कर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गृहजिल्ला हो गोरखा । हिमालसम्मै फैलिएको यो जिल्लामा ११ वटा स्थानीय तह छन् । तीमध्ये दुईवटा नगरपालिका हुन् । जिल्लामा कांग्रेस, एमाले, माओवादी र जनता समाजवादी पार्टीको प्रभाव छ ।

अघिल्लो स्थानीय चुनावका आधारमा कांग्रेस सबैभन्दा ठूलो दल हो । उसको माओवादीसँग सीधा प्रतिस्पर्धा देखिन्छ । गोरखामा तुलनात्मक रूपमा एमाले पहिलेदेखि नै कमजोर छ । ०७४ सालको चुनावमा जिल्लाका ११ मध्ये नौवटा पालिकामा कांग्रेस विजयी भएको थियो । दुईवटा माओवादीले जित्यो भने अन्य दलले पालिका जित्न सकेनन् ।

कांग्रेसले सदरमुकाम गोरखा नगरपालिकाको मेयर–उपमेयर, पालुङटार नगरपालिकाको मेयरसहित अजिरकोट, आरुघाट, गण्डकी, धार्चे, भीमसेन र सिरानचोक गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष तथा चुमनुब्रीमा अध्यक्ष जितेको थियो । माओवादीले सहिद लखन र सुलिकोट गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष तथा पालुङटार नगरपालिकामा उपमेयर र चुमनुब्रीमा उपाध्यक्ष जित्यो ।

गोरखाका अधिकांश पालिकामा कांग्रेस र माओवादीको बीचमा प्रतिस्पर्धा भएको थियो । एउटा आरुघाटमा मात्रै कांग्रेस र एमाले प्रतिस्पर्धी थिए । पूर्वप्रधानमन्त्री भट्टराईको घर रहेको पालुङटारमा कांग्रेस, माओवादी र तत्कालीन नयाँ शक्तिबीच त्रिपक्षीय भिडन्त भएको थियो । आसन्न चुनावका लागि गोरखामा दलहरूबीच तालमेल भएको छैन । मुख्य दल एक्लाएक्लै मैदानमा उत्रिएका छन् ।

कांग्रेस र जसपाबीच केही तहमा तालमेल गर्ने सहमति भए पनि पछि कार्यान्वयन हुन सकेन । सहमतिअनुसार कांग्रेसले पालुङटारको मेयरबाट पछि हटे पनि स्थानीय कार्यकर्ताको व्यापक विरोधपछि तालमेल तोडिएको छ । सत्ता साझेदार दलबीच गठबन्धन बनाउन प्रयास भए पनि सहमति नभएपछि सबै दल एक्लाएक्लै मैदानमा उत्रिएका हुन् ।

यसपटक पनि जिल्लामा कांग्रेस नै मजबुत देखिन्छ । तर, पहिले नयाँ शक्तिमा लागेका आफ्ना कार्यकर्ता फर्किएको भन्दै माओवादी बढी उत्साहित छ । एमालेले पहिलेभन्दा केही प्रगति गरेको छ । तीनवटा पालिकामा एमाले यसपटक प्रतिस्पर्धामा जान सक्ने आकलन गरिएको छ । जनता समाजवादी पार्टीको बढी प्रभाव पालुङटार र धार्चेमा देखिन्छ । सुलिचौरमा माओवादीको प्रभाव छ ।

जिल्लामा समग्रमा कांग्रेस बलियो देखिए पनि उसलाई पहिले जितेका नौवटै पालिका जित्न भने यसपटक चुनौती छ । कांग्रेसले यसपटक तीनवटा पालिका गुमाउन सक्ने सम्भावना छ । एमालेले यसपटक जिल्लामा कम्तीमा एउटा पालिका जित्ने रणनीति बनाएको छ । त्यसमा उसलाई सफलता मिल्न सक्छ ।

जिल्लामा आगामी चुनावका लागि २ लाख १८ हजार ५ सय ६३ मतदाता छन् । तीमध्ये १ लाख ८ हजार २ सय ६० पुरुष र १ लाख १० हजार ३ सय ३ महिला छन् ।