चितवन – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले फागुन २१ गते तय भएको निर्वाचनलाई प्रतिक्रान्तिलाई वैधानिकता दिने ‘हनी ट्रयाप’को रूपमा व्याख्या गरेका छन् ।
चितवनमा बुधबार आयोजित जनप्रदर्शनपछि सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन साधारण प्रक्रियामार्फत हुने लोकतान्त्रिक अभ्यास नभई पश्चिमी शक्तिहरूले आफ्नो हितअनुसार दलाल शक्तिलाई उकास्ने रणनीति अन्तर्गत भइरहेको दाबी गरे ।
बादलका अनुसार फागुन २१ गतेको निर्वाचनले प्रतिक्रान्तिको सरकारलाई स्थायित्व दिन खोजिएको छ । उनले भने, ‘यो संसदीय प्रकृतिको सामान्य निर्वाचन होइन । साम्राज्यवादी शक्तिले आफ्नो दलालहरूलाई अग्रस्थानमा पुर्याउन तयार गरेको नौटंकी हो, यो स्पष्ट हनी ट्रयाप हो ।’
उनले एमाले निर्वाचनको जालमा नपरेको र नपर्ने दाबी गरे । पश्चिमी शक्तिहरूले जनमतयुक्त दलहरूलाई कमजोर बनाउँदै नयाँ दलाल राजनीतिक शक्ति स्थापित गर्ने योजना अन्तर्गत चुनाव घोषणा गरिएको उनले आरोप लगाए ।
फागुन २१ गतेअघि पुराना दलहरूलाई कमजोर बनाउन सकिएन भने प्रधानमन्त्री सुशीला कार्कीको सरकार हटाइने सम्भावना पनि रहेको उनले बताए । ‘दलहरूलाई सिध्याउने जिम्मा सुशीला कार्कीलाई दिइएको छ, नसकिने संकेत दिएको खण्डमा अर्को अन्तरिम सरकार बनाइनेछ,’ उनले भने ।
बादलले दलहरूले पश्चिमी हितका निर्णय स्वीकारे मात्रै निर्वाचन गराइने दाबी समेत गरे । ‘नेपालमा विदेशी सैन्य अड्डा स्थापना, राजनीतिक हस्तक्षेप स्वीकारे मात्र चुनाव हुन्छ, नस्वीकारे चुनाव हुँदैन,’ उनले भने ।
हालको आन्दोलनलाई उनले रक्तक्रान्तिको रङ भरेर सत्ता उल्ट्याउने प्रयासको रूपमा चित्रण गर्दै नेपाललाई सैन्य अड्डा बनाएर चीन र भारत दुवैलाई अस्थिर बनाउने दीर्घकालीन रणनीति रहेको दाबी गरेका छन् ।
पश्चिमी शक्तिहरूले नेपाल कब्जा गरेर तिब्बत र सिन्जियाङ अलग गर्न चीनमा अस्थिरता मच्चाउने, भारतलाई पनि विभिन्न राज्यमा विभाजन गर्ने योजना बनाइरहेका छन् ।
उनले भने, ‘यसका जरा अहिले देखिँदैन तर समयले पुष्टि गर्छ । पश्चिमी साम्राज्यवादीको लक्ष्य बजार कब्जा, स्रोतसाधन नियन्त्रण र कठपुतली सरकारमार्फत अकुत सम्पत्ति आर्जन नै हो ।’
उनले संविधानविपरीत बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार प्रायोजित खेलको हिस्सा भएको आरोप लगाएका छन् ।




प्रतिक्रिया