प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर


काठमाण्डु – यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ । जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ११ हजार ६ सय २८ मत बदर भएको छ भने प्रदेशका ६ निर्वाचन क्षेत्रमा १६ हजार एक सय १७ मत बदर भएको छ । चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ तीन हजार ६ सय २१ मत बदर भएको छ । जहाँ ९५ हजार ४१ मत खसेको थियो ।

यस्तै क्षेत्र नं २ मा तीन हजार दुई सय ५० मत बदर भएको कार्यालयले जनाएको छ । जहाँ ८७ हजार दुई सय ४० मत खसेको थियो । क्षेत्र नं ३ मा चार हजार सात सय ५७ मत बदर भएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो ।

यस्तै निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा दुई हजार नौ र प्रदेशसभा २ मा एक हजार नौ सय ४३ मत बदर भएको छ । निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ मा तीन हजार ५० र प्रदेशसभा २ मा तीन हजार दुई सय ८४ मत बदर भएको छ । त्यसैगरी क्षेत्र नं ३ प्रदेशसभा १ मा तीन हजार दुई सय ४८ मत र प्रदेशसभा २ मा दुई हजार ६ सय १९ मत बदर भएको छ ।

कार्यालय प्रमुख भीमसेन कार्कीले मतदाता शिक्षा गाउँगाउँमा पुगेको भए पनि बदर हुने सङ्ख्यामा कमी आउन नसकेको बताए । प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा मत बढी बदर हुनुमा मतदाताले मत सङ्केत नगरी मतदान गरेको धेरै पाइएको उनको भनाइ छ ।

मतदाताले मत सङ्केत गर्दा बाहिर गरेको, दुई चिह्नमा मतदान गरेको जस्ता गल्ती मतपत्र भेटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement