बँदेल मार्ने कार्यमा संलग्न पूर्वडीआइजी र बहालवाला सईसहित १० जना पक्राउ

बँदेल मार्ने कार्यमा संलग्न पूर्वडीआइजी र बहालवाला सईसहित १० जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज-जंगली जनावरको चोरीशिकारमा संलग्न पूर्वडीआइजी र बहालवाला सईसहित १० जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर–३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने छन् ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का जर्नादन राउत, इटहरी–२ का प्रदीप लिम्बु र राजविराज–७ का रविन दासलाई समेत पक्राउ गरिएको छ ।

यसैगरी हनुमाननगर कंकालनी नगरपालिका–५ का ओमशंकर प्रसैला, वडा नं १ का लक्ष्मण मण्डल र वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ ।

उनीहरूको साथवाट २२ क्यालीबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको छ ।

यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको बताए

उनीहरूले खेतबारीमा बाली खान आएका बेला बँदेल मारेको बताएका छन् । नेपाल सरकारले ७ मंसिर २०८० मा हानिकार वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो ।

जसअनुसार बाली खान आएको बेला खेतबारीमै मार्न सकिने तर मारेको बँदेल जनप्रतिनिधिको रोहबरमा गाड्न वा मूल्य तोकी मासु बिक्रि वितरण गर्न समेत सकिने व्यवस्था छ ।