काठमाण्डु – पूर्व–पश्चिम राजमार्गको नवलपरासीको चोरमारा, दुम्किबास र दाउन्नेमा वैकल्पिक सडक बाढीले बगाएपछि यातायात ठप्प भएको छ । गएरातिको वर्षासँगैको बाढीले सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प भएको हो ।
बाढीले तरकारी बोकेको एउटा पिकअप भ्यानसमेत बगाएको छ। भ्यान बाढीले भत्काएको सडकमा फसेको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने हुन पाएन।
बर्दघाट बजार नजिकै खुर्सानी खोलामा ५ दिनअघि बनाइएको वैकल्पिक सडक बाढीले बगाएको हो । यस्तै दुम्किबासको विनयी खोलामा पनि वैकल्पिक सडक बगाइदिएको छ । चोरामाराको फलामे पुल भाँच्चिएपछि बनाइएको अस्थायी सडक पनि बगाएको छ ।
सडक बन्द भएपछि गाडी र यात्रु चोरमारा र बर्दघाटमा रोकिएका छन् । सडक खुलाउने गरी काम भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।
नवलपरासी अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो। पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए।

प्रतिक्रिया