आज ३५ जिल्लामा बाढीको जोखिम

आज ३५ जिल्लामा बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर परेको अत्यधिक वर्षाले विभिन्न नदीहरूमा बाढीको जोखिम बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले काठमाण्डुसहित देशका ३५ जिल्लाका खोलारनदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले बुधबार बिहान बाढी मापन गर्दा कर्णाली, महाकाली र बबई नदीको बहाब सतर्कता आसपास रहेको र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल छ। तर बढ्ने सम्भावना रहेको उल्लेख गरेको छ।

जिल्लाका दृष्टिले कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

बाढी महाशाखाले उल्लिखित दुई जिल्लालाई रेड अलर्टमा राखेको छ भने तलका बाँकी ३३ जिल्लालाई एल्लो अलर्ट दिएको छ।

दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।

साथै संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी(पूर्व, नवलपरासी(पश्चिम, कपिलवस्तु, खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।