सङ्खुवासभाको नुम क्षेत्रमा भारी वर्षा, रसुवामा विपद्‌को जोखिम कायमै

सङ्खुवासभाको नुम क्षेत्रमा भारी वर्षा, रसुवामा विपद्‌को जोखिम कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सङ्खुवासभा जिल्लाको नुम वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लगातारको वर्षाका कारण सो क्षेत्र भएर बग्ने साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो खस्ने जोखिम उच्च रहेको छ ।

यता रसुवा जिल्लामा मनसुनजन्य विपद्को सम्भावना कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र चीनतर्फबाट प्राप्त सूचनाका आधारमा आगामी दिनमा भारी वर्षा भई नदीहरूको बहाव बढ्न सक्ने देखिएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

भोटेकोशी, त्रिशूली, लाङटाङ खेला, चिलिमे खोला र अन्य नदी तथा खोलाका आसपास बसोबास गर्ने स्थानीयवासी, निर्माणाधीन आयोजना तथा नदी किनारमा रहेका कार्यालयलाई आवश्यक पूर्व तयारी तथा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

‘जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीको बहाव बढ्न सक्ने हुँदा विपद्को जोखिम हुनसक्ने सम्भावना रहेको भनी आवश्यक पूर्व तयारी र सावधानीका लागि सूचना प्राप्त भएकाले रसुवा जिल्ला भई बहने भोटेकोशी नदी, त्रिशूली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी र खोला आसपासका क्षेत्रमा मनसुनजन्य विपद्को जोखिम रहेकाले उक्त क्षेत्रहरूमा बसोबास गर्नु हुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्व तयारी एवम् सावधानी अपनाउनु अनुरोध गरिएको छ ।

गत असार २४ गते बिहान रसुवाको टिमुरेस्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवागढी नाकामा रहेको मितेरी पुल पूर्ण रूपमा बगाएको थियो।