काठमाण्डु – बाढी र पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै सुचारु हुन सकेको छैन ।
नेपाल प्रहरीका अनुसार बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपालथोक खण्डमा पहिरोका कारण सडक अहिले पनि अवरुद्ध छ ।
त्यस्तै कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।
पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् भने रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध छ ।
यस्तै मेची राजमार्गको इलाम खण्ड र तमोर कोरिडोर पनि पहिरोको कारण अवरुद्ध रहेका छन् ।





प्रतिक्रिया