काठमाण्डु – अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
बागमती, कोशीसहित विभिन्न प्रदेशका विभिन्न जिल्लामा सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै दर्जनौँ सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको प्रहरीले जनाएको छ।
ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र गोदावरी नगरपालिकाको बिखेंधारामा असोज ९ गते बिहानै गएको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशका अन्य जिल्लाहरूको अवस्था पनि उस्तै छ।
यस्तै, काभ्रेपलाञ्चोकको रोशी र धुलिखेलमा गएको पहिरोले बीपी राजमार्ग र अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्। धादिङको बेनीघाट, कृष्णभीर र गजुरी लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प भएको छ। त्यहाँ अर्को सूचना जारी नभएसम्मका लागि धादिङ आसपासका क्षेत्रमा पृथ्वी राजमार्गमा चल्ने सम्पूर्ण सवारी साधनहरूलाई पूर्ण रूपमा रोक लगाइएको छ।
यसैगरी, रसुवा र नुवाकोटका मुख्य राजमार्गहरू भदौ महिनादेखि नै बाढी र पहिरोका कारण अवरुद्ध छन्। नुवाकोटको पासाङ ल्हामु सडक खण्ड र टोखा–छहरे सडक खण्डमा सवारी साधन चल्न सकेका छैनन्।
यस्तै मकवानपुरको भीमफेदी र हेटौंडाको नेवारपानीमा गएको पहिरोले कान्ति लोकपथ र महेन्द्र राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्।
कोशी प्रदेशमा पनि बाढी र पहिरोले ठूलो असर पुर्याएको छ। ओखलढुंगाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा आएको बाढीले सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ।
पाँचथरको नावाखोला र दोभाने खोलामा बाढी र पहिरो आएपछि तमोर करिडोर र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएका छन्।
सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा रात्रिकालीन यात्रामा कडाइ गरिएको छ। जिल्लास्थित प्रशासनले भारी वर्षाको पूर्वानुमान रहेकाले सम्भावित क्षति रोक्न अत्यावश्यक बाहेकका सवारी साधनलाई रातिको समयमा चलाउन पूर्ण रूपमा रोक लगाइएको जनाएको छ।
कोशी प्रदेशका सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुरमा बेलुकादेखि बिहानसम्म यात्रा गर्न रोक लगाइएको छ भने बागमती प्रदेशका काभ्रे, सिन्धुली, मकवानपुर र दोलखामा पनि असोज ११ गतेसम्मका लागि रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ।
रातिको समयमा एम्बुलेन्स, दमकल र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलाई भने प्रहरीको समन्वयमा चल्न दिइने व्यवस्था मिलाइएको छ।








प्रतिक्रिया