बाढीपहिरोमा ११ जनाको मृत्यु, १० जना बेपत्ता

बाढीपहिरोमा ११ जनाको मृत्यु, १० जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोलगायत विपद्मा कयौं जना घाइते र बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार हालसम्म ११ जना मृत्यु, १० जना बेपत्ता र ७६४ जनाको उद्धार गरिएको छ ।

पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ ।

बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी रहेको उनले बताए । पछिल्लो विपद्बाट करिब चार सय जना विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन् ।

२८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरू अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।

काभ्रेमा मृतकको संख्या ४ पुग्यो

काभ्रेमा विभिन्न स्थानमा गएको बाढी पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर ४ जनाको मृत्यु र १४ जना बेपत्ता भएको जानकारी दिएको छ ।

डीएसपी राजकुमार श्रेष्ठका अनुसार तिमालमा २ जना, बेथानचोक र पनौतीमा १/१ जनाको मृत्यु भएको हो ।

यसैगरी बनेपा, पनौती, तेमालबाट १४ जना बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरिएको छ ।