सातवटै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशमा कति?

सातवटै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशमा कति?


काठमाण्डु-  आगामी आर्थिक बर्षका लागि सातवटै प्रदेशसरकारले आर्थिक वर्ष ०८०-०८१ को बजेटसार्वजनिक गरेका छन् । कोशी प्रदेश सरकारले बिहीबार नै अध्यादेशमाफत बजेट सार्वजनिक गरेपनि ६वटा प्रदेशले भने शुक्रबार सार्वजनिक गरेका हुन् ।

काेशीमा ३६ अर्ब २४ करोड
राजानीतिक खिचातानीका कारण कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो। नीति तथा कार्यक्रममाथि प्रसस्त छलफल भएर बार्षिक बजेट आउनुपर्नेमा सत्ताको अंकगणितका कारण संसद छलेर अध्यादेशमार्फत बजेट ल्याउनुपरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत नेतृत्व सम्हाल्नुभएका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको अनुमानित बजेट प्रस्तुत गरे।

जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ ।

मधेशमा ४४ अर्ब ११ करोड

मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोडको बजेट ल्याएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवलेले अगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।

जसमा चालू तर्फ १८ अर्ब २१ करोड, ७६ लाख १४ हजार अर्थात् ४१.३० प्रतिशत र पुजिगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८.२५ प्रतिशत छ । वितीय व्यवस्था तर्फ २० करोड अर्थात् ०.४५ प्रतिशत छ ।

बागमतीमा ६२ अर्ब ७२ करोड

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ६२ अर्ब ७२ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट सार्वजनिक गरेका हुन्।

सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ८ अर्ब कम बजेट विनियोजन गरेको हो । आगामी आवको बजेटमा चालु खर्चमा २६ अर्ब ६४ करोड, र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख बजेट विनियोजन गरिएको छ ।

गण्डकीमा ३३ अर्ब ४२ करोड

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । अघिल्लो वर्षभन्दा डेढ अर्ब सानो बजेट अर्थमन्त्री जीतप्रकाश आलेले प्रस्तुत गरे। सरकारले ल्याएको बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ ।

पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट छुट्याएको छ । सरकारले १ अर्ब ७० करोडको घाटा बजेट ल्याएकोे हो ।सरकारको अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड अनुमान गरिएको छ ।

लुम्बिनीमा ४० अर्ब ४७ करोड

लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरे।

कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७.४५ प्रतिशत छ ।

कर्णालीमा ३३ अर्ब ३७

कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन्। कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ ।

पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४.३८ प्रशितत विनियोजन गरिएको छ ।

सुदूरपश्चिममा २९ अर्ब २६ करोड

सुदूरपश्चिम प्रदेश सरकारले कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार को बजेट ल्याएको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले नीति तथा कार्यक्रमलाई सार्थकता दिनेगरि बजेट ल्याईएको बताए।

जसमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात ३२.७९ प्रतिशत र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात ५८ं.१६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।