जब डीएनए परीक्षणका लागि बग्दादीको भित्रीवस्त्र चोरियो…


एजेन्सी । कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्या्टिक फोर्सेस (एसडीएफ) ले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल–बग्दादी मारिनुअघि पहिचान गर्न डीएनए जाँचका निम्ति उनको भित्रीवस्त्र आफ्ना जासुसले चोरेको जनाएको छ ।

एसडीएफका एक वरिष्ठ कमाण्डरले अमेरिकी सेनाको कारबाहीअघि आईएसका नेता बसिरहेको ठाउँ पत्ता लगाउन आफूहरूको स्रोतले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेका छन् ।

शनिवार उत्तरी सिरियामा अमेरिकी सेनाको कारबाहीका क्रममा बग्दादीले ‘सुसाइड भेस्ट’ आत्मघाती विस्फोट गराई आफ्नो ज्यान लिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुर्दिश फौजको भूमिकालाई खासै स्वीकारेका छैनन् ।

अक्टोबर २७ को सैन्य कारबाहीबारे घोषणा गर्दा ट्रम्पले कुर्दहरूले महत्त्वपूर्ण सूचना उपलब्ध गराएको बताएका थिए । यद्यपि सैन्य कारबाहीमा उनीहरूको कुनै भूमिका नरहेको उनले बताए ।

तर कमाण्डर पोलाट क्यानले सामाजिक सञ्जाल ट्विटरमा सोमवार गरेका पोस्टहरूमा अमेरिकी सैन्य कारबाहीमा एसडीएफले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘सबै जासुसी र बग्दादीसम्म पहुँचका साथै उनी बसिरहेको स्थानको पहिचानमा हाम्रै भूमिका रह्यो । बम खसाल्न ठाउँ देखाउने, सहभागी हुने र कारबाहीलाई सफल पार्ने कुरामा अन्तिम समयसम्म हाम्रो गुप्तचर स्रोतको सहभागिता रह्यो ।’

बग्दादी भएको ठाउँ पत्ता लगाउने कामका लागि एसडिएफले मे १५ तारिखदेखि नै सीआईएसँग सहकार्य गरेको क्यानले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement