पर्सा–बाघको आक्रमणमा परी पर्सामा एक वृद्धको मृत्यु भएको छ ।
आक्रमणबाट जिराभवानी गाउँपालिका वडा नम्बर ५ शङ्कर सरैयाको सखुवनिया निवासी ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको हो ।
गाउँ नजिकैको जङ्गलमा शुक्रबार अपराह्न घाँस काट्न गएको बेला बाघको आक्रमणमा परी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढा थापाले बताए ।
उनका अनुसार परिवारजनले थारु हिजो देखि हराएको प्रहरीमा खबर गरेका थिए । त्यस क्रममा प्रहरी र स्थानीय मिलेर संयुक्तरुपमा खोजविन गर्दा शनिबार बिहान थारु मृत अवस्थामा नजिकैको जङ्गलमा फेला परेका थिए ।
एउटा हात र एउटा खुट्टा नभएको अवस्थामा उनको शव फेला परेको थियो ।
घटनास्थलको मुचुल्का उठाएर शव परीक्षण (पोस्टमार्टम)का लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जानकारी दिएको छ ।




प्रतिक्रिया