काठमाडाैं- कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिला निको भएर घर फर्केकी छन् । बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई घर फर्काएकाे धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिए । चैत १९ गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।
डिस्चार्जपछि पौडेलले आफूले जसरीपनि कोरोना भाइरसलाई जित्ने अठोटका साथ कोरोना भाइरसलाई जित्न सफल भएको बताईन । छोरीलाई भेट्नका लागि बेल्जियम गएर फर्कदा भाइरस संक्रमण भएको पुष्टी भएपछि अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार व्यवहार गरेकाले जित्न सहज भएको बताईन ।
१६ दिनसम्म अस्पतालको आइसुलेसनमा बसेर उपचार गर्दा प्रयाप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना, खाजा तथा अन्य औषधीहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताईन। आफ्नै घर नजिकको अस्पतालबाटै कोरोनाको उपचारपछि फर्कन पाउँदा खुसी लागेको भन्दै पौडेलले संक्रमण लाग्दै नदिनका लागि सबै उपाय अपनाउन र लागीहालेपनि नआत्तिन सबैलाई आग्रह गरेकी थिईन् ।
‘मलाई कोरोनाको संक्रमण भएपनि शारिरिक रुपमा कुनै समस्या थिएन, विश्वका हजारौं मानिसको ज्यान लिएको कोरोनालाई जित्छु भन्ने अठोटका कारण ६५ वर्षको उमेरमा कोरोनालाई जितेर घर फर्केको छु ।’ संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमा दोस्रो, पाँचौ र छैठौं संक्रमित एउटै विमानबाट नेपालमा आएका थिए ।ती मध्य काठमाडौंमा उपचाररत दोस्रो संक्रमित र बागलुङमा उपचाररत छैठौ संक्रमित एकै दिन कोरोना मुक्त भएका छन् ।




प्रतिक्रिया