बागमती प्रदेश : मन्त्रालयको भागबन्डा मिल्यो, मुख्यमन्त्रीले आलोपालो नमान्ने

बागमती प्रदेश : मन्त्रालयको भागबन्डा मिल्यो, मुख्यमन्त्रीले आलोपालो नमान्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशमा गठबन्धनका दलहरूबीच मन्त्रालयको भागबण्डा मिलेको छ । आज बसेको गठबन्धनको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो ।

आजै प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् । उनले आजै शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्री पनि आजै नियुक्त हुँदैछन् ।

मन्त्री बन्नेहरुमा नेपाली काँग्रेस संसदीय दलको उपनेता कृष्णलाल भडेल, एकीकृत समाजवादीबाट संसदीय दलका उपनेता कृष्णप्रसाद खनाल र माओवादीबाट संसदीय दलका उपनेता कुमारी मोक्तान रहेका छन् ।

भडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ भने खनाल सामाजिक विकास मन्त्री बन्ने भएका छन् । त्यस्तै मोक्तानलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बताए ।

यता सरकार चलाउने विषयमा भने गठबन्धनका दलहरु कांग्रेस र नेकपा एसमा अझै पनि सहमति जुट्न सकेको छैन । बाग्मती प्रदेशको सरकार कस्ले चलाउने भन्ने विषयमा सहमति हुन नसकेपछि आधा–आधा कार्यकालका लागि सहमति गरेका दुवै दलबिच अहिले पनि ‘मौका पाउँला र छोपौंला’ भन्ने अवस्था छ ।

नेकपा एसका संसदिय दलका नेता एवम् प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली कांग्रेससँग आधा–आधा कार्यकाल सरकार चलाउने विषयमा कुनै सहमति नभएको दाबी गरे । बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले ‘सजिलोका लागि कसैले भनिदिएको’ होला, तर अवको पूरै अवधि बागमती प्रदेश आफूले चलाउने बताए ।

‘कहिलेकाहीँ सजिलोका लागि मान्छेले के–के भनिरहन्छन् नि,’ उनले भने–‘कांग्रेससँग त्यस्तो कुनै सहमति भएको छैन, बाँकी पुरै अबधी सरकारको नेतृत्व मैले गर्छु ।’ गत बिहीबार एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच आलोपालो सत्ता चलाउने सहमति भएको बताइएको थियो । प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भए पनि कांग्रेसले आफ्नो नेतृत्वको दाबी नछोडेपछि नयाँ सहमति भएको जनाइएको थियो ।