इन्द्र बानियाँलाई वागमतीकाे मुख्यमन्त्री बनाउन गरिएको लिखित सहमति बाहिरियो


काठमाण्डु – सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलबीच वागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे भएको सहमति बाहिरिएको छ ।नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एसबीच भएको लिखित सहमति बाहिरिएको हो ।

जसमा पाण्डे मुख्यमन्त्री भएको आधा अवधिपछि प्रदेशसभाको बाँकी कार्यकाल कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ । २०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ महिनापछि कांग्रेसले नेतृत्व पाउने सहमति भएको चर्चा हुँदै आएको थियो । तर उनीहरुले लिखित सहमति भने गोप्य राखेका थिए ।

उक्त सहमति पत्रमा कांग्रेसबाट बानियाँ, नेकपा एसबाट पाण्डे र माओवादीबाट शालिकराम जम्कट्टेलले हस्ताक्षर गरेका छन् । पाण्डे मुख्यमन्त्री भएको आठ महिना पुगिसकेको छ । संघीय सरकारले मंसिरमै आमनिर्वाचन गराउने तयारी थालेको छ ।

त्यसो हुँदा प्रदेशसभाको कार्यकाल अब ५ महिनामात्रै बाँकी छ । सरकारको नेतृत्व हस्तान्तरण गर्न कांग्रेसले गठबन्धन दलहरुलाई आग्रह गर्दै आएपनि कार्यान्वयन हुन नसकिरहेका बेला उक्त सहमतिपत्र सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement