सुन तस्करी प्रकरणमा कांग्रेसका मन्त्रीको नाम जोडिएपछि प्रदेश सभामा जवाफ माग


काठमाण्डु – नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाको नाम जोडिएपछि नेकपा एमालेले जवाफ मागेको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले १ किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

केही दिनअघि दुबईबाट काठमाडौं आएका ३ जनाले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा १ किलो सुन बरामद भएको थियो ।

पक्राउ परेकाहरूको बयानबाट तस्करीमा काभ्रेका तरुण दलका नेता विकास लामाको संलग्नता खुलेको प्रहरीले बताएको छ । लामासँगै मन्त्री लामा पनि जोडिएका छन् ।

एमाले संसदीय दलका नेता थपलियाले मन्त्रीको नाम नलिई सञ्चारमाध्यममा समाचार आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा उनले भने, ‘हाम्रै प्रदेश सरकारका मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करका सन्दर्भमा पत्रपत्रिकामा आएको छ । यो हो वा होइन ? सरकारले संसदलाई सुसूचित गराउनुपर्छ । एउटा जनप्रतिनिधि र मन्त्रीका बारेमा प्रश्न उठिसकेपछि कारबाही भइन्जेलसम्म मन्त्री पद छोड्नुपर्छ कि पर्दैन ? मन्त्रीले जान्ने कुरा हो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement