काठमाण्डु- सरकारले आगामी आर्थिक वर्ष २०८१\०८२ को बजेटमा बागमती प्रदेशका धेरै योजना समेटेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट वक्तव्यमा बागमतीका धेरै योजना समावेश गरिएको हो ।
बजेट वक्तव्यमा नेपाललाई सूचना प्रविधि हबका रुपमा विकास गर्न आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने घोषणा गरिएको छ ।
सार्वजनिक–निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सञ्चालनका लागि काठमाण्डुको डिल्लीबजारस्थित चारखालमा बहुतल्ले संरचना निर्माण गरिने र ललितपुरको खुमलटारमा ज्ञानपार्क निर्माणका लागि रु १७ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै, आगामी आवदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरू गरिने र चितवन विमानस्थल विस्तारको काम सोही आवमा सम्पन्न गर्न रु ३६ करोड विनियोजन गरिएको घोषणा गरिएको छ ।
सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने, रुग्ण तथा बन्द अवस्थामा रहेका विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग र गोरखकाली रबर उद्योग सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालनमा ल्याउने सरकारको योजना छ ।
त्यसैगरी चितवनमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी कार्य अगाडि बढाइने, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आवदेखि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिने र पाटनस्थित मानसिक अस्पतालको स्तरोन्नति गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
“आगामी आवमा काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने काठमाडौँस्थित वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार र कीर्तिपुरस्थित बर्न अस्पतालको पूर्वाधार विकास गरिने”, वक्तव्यमा भनिएको छ ।
आगामी वर्ष राष्ट्रियस्तरका ८० खेल आयोजना गर्ने घोषणा गरेको सरकारले काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरस्थित गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिने जनाएको छ ।
यसैगरी आगामी आवमा चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध रङ्गशाला तीनै तहका सरकारको साझेदारीमा निर्माण सम्पन्न गरिने घोषणा गरिएको छ । कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिएको सरकारले खेल पूर्वाधारतर्फ रु एक अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आवमा पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डलाई चार लेनमा विस्तार गरिने, काठमाडौँ तराईं मधेस द्रुतमार्गको निर्माणलाई तीव्रता दिँदै महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ सम्पन्न गरिनेसमेत बजेट वक्तव्यमार्फत जानकारी दिइयो । यस्तै, नागढुङ्गा–नौबिसे–मुग्लिङ खण्डको थप ४० किलोमिटर स्तरोन्नति गरिने र मुग्लिङ–आँबखैरेनी सडक विस्तार कार्यलाई सुरु गरिने जनाइएको छ । आगामी आवमा सिस्नेखोला–नागढुङ्गा सडक निर्माण, सिद्धबाबा सुरुङमार्ग र ग्वार्को फ्लाइओभर सम्पन्न हुने छन्।
स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुलो, धागो उद्योग, हेल्मेट, अगरबत्ती, स्यानिटरी प्याड, काजु र बदाम प्रशोधनलगायत उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तःशुल्क घटाएको सरकारले आगामी आवमा रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको कार्य सम्पन्न गर्ने घोषणा गरेको छ ।




प्रतिक्रिया