बागमती सरसफाई अभियानको ४३७ औँ हप्ता : २ मेट्रिक टन फोहर व्यवस्थापन


काठमाण्डु – बागमती सरसफाइ अभियानको ४ सय ३७ औँ हप्तामा आज तिलगंगा आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ । आजको सरफाइबाट २ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी माला खरेलले काठमाण्डु पाटीलाई जानकारी दिइन् । आजको सफाइ अभियानका १ सय ५० अभियानकर्मी सहभागी भएको खरेलले बताइन् ।

‘अहिले कोरोनाको जोखिम नै छ, त्यसैले कतिपय सहभागी हुन चाहनेहरूलाई समेत बोलाउन पाइएको छैन । विगतमा सेना प्रहरी स्काउट लगायतलाई आमन्त्रण गरिएपनि कोरोना पूर्णरुपमा नहटेसम्म सीमित व्यक्तिहरूको मात्र सहभागिता रहनेछ,’ उनले भनिन् ।

बाग्मती सफाइ अभियानलाई विश्वकै सबैभन्दा लामो सफाइ अभियान भएको दाबी गरिदै आएको छ । २०७० साल जेठ ५ गते तत्कालिन मुख्य सचिव लिलामणि पौडेलको अग्रसरतामा सुरु भएको महाअभियान सफाइ जागरणको प्रेरणा समेत बन्न सफल भएको छ ।

अभियान सुरु भएपछि बागमतीका शाखा नदीहरू विष्णुमती, धोबीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरूमा समेत सरसफाइ थालिएको छ । उपत्यका बाहिर पनि अभियान सञ्चालन भइरहेको छ । उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयको सहभागितामा सफाइ कार्यक्रमहरू सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement