मुख्यमन्त्री लामा र स्वीस राजदूत म्यूलीबीच भेटवार्ता

मुख्यमन्त्री लामा र स्वीस राजदूत म्यूलीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनियल म्यूलीले मंगलबार भेटवार्ता गरेका छन् ।

भेटमा राजदूतम्यूलीले स्वीस सरकारबाट बागमती प्रदेशमा हाल सञ्चालनमा रहेका परियोजनाको साथसाथै नेपालमा संविधान कार्यान्वयनमा स्वीस सरकारले गरिरहेको परियोजना सहयोगबारे जानकारी गराए ।

बागमती प्रदेशमा हाल स्वीस सरकारको सहयोगमा ६ वटा परियोजना कार्यान्वयनमा रहेको र थप २ वटा परियोजना सुरूआतको प्रक्रियामा रहेको जानकारी दिँदै राजदूत म्यूलीले हाल बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक सीप सम्बन्धी ऐन जारी गरी प्रादेशिक तहमै रोजगारी प्रवर्द्धनका लागि गरेको प्रयासको प्रशंसा गरे ।
बागमती प्रदेशमा स्वीस सरकारको सहयोगमा सुरक्षित आप्रवासी परियोजना (सामी) कार्यान्वयनमा रहेको र सुरक्षित आप्रवासका लागि बागमती प्रदेश सरकार समेतले उल्लेख्य बजेट विनियोजन गरी कार्यान्वयनमा गएकोमा धन्यवाद ज्ञापन गरे ।

स्वीस सरकारले मोटरेवल लोकल रोड एण्ड ब्रीज प्रोगामबाट सडक पुल निर्माणमा काम गरिरहेको जानकारी दिँदै राजदूत म्यूलीले प्रदेश सरकार प्रादेशिक सडक गुरूयोजना निर्माण गरेकाले आगामी दिनमा यसले प्रदेशमा सडक तथा पुल निर्माणका लागि नीतिगत रूपमा सरल भएको बताए ।

भेटका अवसरमा मुख्यमन्त्री लामाले स्वीस सरकारले गरिरहेको सहयोगबारे आफू जानकार रहेको र नियमित सहयोगको अपेक्षा रहेको बताए ।

बागमती प्रदेश सरकारले स्वीस सरकारसँग मुलरूपमा प्रविधि हस्तान्तरण र पर्यटन विकासमा सहयोगको अपेक्षा रहेको बताउँदै उनले बागमती प्रदेशमा पर्यटन र जलविद्युत् उत्पादनको अथाहा सम्भावना रहेकाले यस क्षेत्रमा प्रविधि हस्तान्तरण र लगानीका लागि स्वीस सरकारले सहयोग गर्दा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए ।

स्वीट्जरल्याण्डको संघीयताको मोडलबाट नेपालमा धेरै कुरा सिक्न सक्ने हुँदा त्यहाँका विकास मोडल नेपालका लागि सन्दर्भ स्रोत रहेको बताउँदै मुख्यमन्त्री लामाले प्रदेशमा लगानीमैत्री वातावरण निर्माणका लागि आफू निरन्तर लागिपरेको र सबैको सहयोगबाट यस क्षेत्रमा उपलब्धि हासिल गर्न सकिने बताए ।