रौतहट – अविरल वर्षका कारण रौतहटको बागमती र लालबकैया नदीमा जल सतह बढेपछि बाढीको जोखिम बढ्न थालेको छ ।
रौतहटका मुख्य नदी पूर्वी भागमा बागमती र पश्चिमी भागमा लालबकैया नदीले साधारण जलसतह पार गरेकाले नदी किनारका वासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ ।
शनिबारदेखि असोज २० गतेसम्म देशभर माध्यमदेखि भारी र अति भारी वर्षा हुने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन रौतहट प्रशासनले सबैलाई अनुरोध गरेको छ ।
यहाँको राजदेवी नगरपालिका, दुर्गाभगवती गाउँपालिका, बौधिमाई नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका र कटहरिया नगरपालिका बाढीको उच्च जोखिममा छ ।
जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेट लगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोद कुमार खड्काले बताए ।
विपद् प्रतिकार्यका लागि सम्पूर्ण सुरक्षा निकायलाई २४ घण्टै तयारी अवस्थामा रहन निर्देशन समेत दिएको उनले जानकारी दिए ।
उनका अनुसार वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका सबै स्थानीय तह, रेडक्रस, विपद् क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरूलाई विपद् पूर्वतयारीमा जुट्न र उद्धार वा प्रतिकार्य तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।
अहिले जिल्लामा अविरल वर्षाका कारण यातायातका साधन कमै मात्रामा चलेका छन् भने अधिकांश व्यापार व्यवसाय ठप्प रहेको अवस्था छ ।




प्रतिक्रिया