बागमती सरकारले ‘हेलो सीएम’ कक्ष स्थापना गर्ने

बागमती सरकारले ‘हेलो सीएम’ कक्ष स्थापना गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेश सरकारले प्रदेशवासीको समस्या बुझ्न तथा समाधान खोज्ने उद्देश्यले ‘हेलो सीएम’ कक्ष स्थापना गर्ने भएको छ ।

प्रदेशवासी नागरिकले भोग्नुपरेको समस्या, गुनासो र उजुरीलाई ७ दिनभित्र फछर्यौट गर्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्याधुनिक प्रविधि सहितको हेलो सिएम कक्ष स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताए ।

प्रदेश सरकारद्वारा सञ्चालित सम्पूर्ण आयोजनाको भौतिक तथा वित्तीय प्रगतिको निरन्तर ट्रयाकिङ र ट्रेसिङ गर्नका लागि अनलाइन प्रोजेक्ट मनिटरिङ सिस्टम विकास तथा कार्यान्वयनको लागि बजेट व्यवस्था गरिएको उनले बताए ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्रको स्थापना गरी प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई प्रदान गरिने सबै प्रकारका तालिमलाई एकद्धार प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउने सरकारले तयारी गरेको छ ।

प्रदेशमा पहिचान भएका तर तर्जुमा हुन बाँकी कानुनलाई प्राथमिकताका साथ तर्जुमा गरी आर्थिक वर्ष २०८३/८४ लाई कानुन तर्जुमा वर्षका रूपमा मनाइने बताउँदै उनले प्रदेश सरकारले बनाएका नीति तथा कानुनहरूको कार्यान्वयन अवस्थाको अध्ययन एवं विश्लेषण गर्न आवश्यक रकम विनियोजन गरिएको उल्लेख गरे ।

संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय बढाउन प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमलाई सरकारले निरन्तरता दिइएको छ । मानव विकास सूचकांकमा पछाडि परेका स्थानीय तहहरूलाई लक्षित गरी पालिका मानव विकास तथा आर्थिक रूपान्तरण विशेष कार्यक्रम सञ्चालन गर्न ४ करोड ४९ लाख बजेट विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिए ।