काठमाण्डु – सर्वोच्च अदालतले वाग्मती प्रदेशका ८ जिल्लाका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षलाई पुनर्बहाली गर्न आदेश दिएको छ ।
जिल्ला अस्पताल रसुवाका अध्यक्ष रामशरण कुइँकेलले दिएको निवेदनउपर सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजालसले विपक्षको नाममा अल्पकालीन आदेश जारी गरेको हो । गत माघ २१ गते वाग्मती सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ८ अस्पतालका अध्यक्षलाई बर्खास्त गरी नयाँ अध्यक्ष नियुक्त गरेको थियो ।
आफू बहाली छँदै हटाएर अन्याय गरेको भन्दै उनले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वाग्मती सरकारको स्वास्थ्य मन्त्रालय लगायतलाई विपक्षी बनाइ निवदेश दिएका थिए । उनको निवेदन उपर सो आदेशसँगै ८ जिल्लाका अस्पताल अध्यक्षको पुनर्बहाली भएको छ । उनीहरुको पदावधि १० महिना बाँकी छ ।
‘वाग्मती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको मिति ०७८ माघ १८ गतेको निर्णय र सोही मिति २१ गतेको पत्रसमेत यथास्थितिमा राखी कार्यान्वयन नगर्नू÷नगराउनु तथा निवेदकलाई यथावत् काम गर्न भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) को खबमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ । साथै सर्वोच्चले पक्ष र विपक्षलाई छलफलका लागि फागुन ३० गते बोलाएको छ ।




प्रतिक्रिया