काठमाण्डु-बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् ।
नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूको शपथ आज बिहान हुने प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिएका छन् ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार लामालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । मंगलबार नै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरी ६४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
आइतबार माओवादीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८(२) बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको थियो ।
१३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री र अर्थ मन्त्रालयसहित ७ वटा र एमालेले भौतिक पूर्वाधारसहित ६ मन्त्रालय लिने सहमति भएको छ ।




प्रतिक्रिया