वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त, बनिन् नेपालको पहिलो महिला मुख्यमन्त्री

वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त, बनिन् नेपालको पहिलो महिला मुख्यमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । बुधबार मुख्यमन्त्री डोरमणी पौडेलले  राजिनामा दिएपछि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले संविधानको धारा १६८(१) अनुसार नयाँ मुख्यमन्त्रीमा एमाले नेतृ शाक्यलाई नियुक्त गरेका हुन् ।

उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । नवनियुक्त मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुख प्रसाईंले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

त्यसअघि आजै बिहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो । हिजोका दिनसम्म माधव कुमार नेपाल समूहकी प्रखर नेतृका रुपमा चिनिने शाक्यले नेपालको साथ छोडेसँगै एमाले संसदीय दलले उनलाई मुख्यमन्त्री बनाउन तयार भएको हो ।

शाक्य नेपालको इतिहासमा पहिलो महिला मुख्यमन्त्री हुन् । नेपालमा संघीय प्रणालीको शुरूआत भएर बनेका सात प्रदेश सरकारमा अहिलेसम्म महिला नेतृत्व थिएनन् । वागमतीले मुख्यमन्त्रीको रूपमा अनुभवले खारिएकी नेतृलाई पाएको छ ।

यद्यपि, उनको कार्यकाल भने धेरै लामो छैन । वर्तमान प्रदेशसभाको बाँकी करिब डेढ वर्षे कार्यकाल शाक्यले मुख्यमन्त्रीका रूपमा चलाउने छिन् ।

शाक्यले २०७४ सालको चुनावमा प्रतिनिधिसभाको उम्मेदवार नबनी वागमती प्रदेशसभाको चुनाव लडेकी थिइन् । त्यसैबेलादेखि उनलाई उनलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको थियो ।