काठमाण्डु– सत्ता साझेदारी गर्ने दल नेपाली कांग्रेस–नेकपा एमालेबीच मन्त्रालय भागबण्डा नटुंगिएर रोकिएको बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्यक्रम आज हुने भएको छ । कांग्रेस–एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएपछि नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् ।
बागमतीमामाओवादी नेता शालिकराम जम्कट्टेल नेतृत्वमा रहेको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवराज शर्माले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न साउन आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।
त्यही समयभित्र एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीको दाबी पेस गर्ने गर्ने तयारी गरेका छन् ।
बागमती प्रदेशमा कांग्रेस र एमालेबीच कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति भएपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्यक्रम तय भएको हो । सोमबार मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्रीमा लामाको दाबी पेस गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो ।
मुख्यमन्त्री जम्कट्टेलले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले आजसम्मको समय दिएर त्यसैदिन बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
हेटौंडास्थित एक होटलमा आइतबार बेलुका कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँटका लागि बसेको बैठकमा कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिने सहमति बनेको छ ।
एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिनेछ ।




प्रतिक्रिया