बागमती र लाल बकैया नदीमा आएको बाढीले जनजीवन प्रभावित

बागमती र लाल बकैया नदीमा आएको बाढीले जनजीवन प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – निरन्तरको अविरल बर्षासँगै रौतहटका दुई मुख्य नदी बागमती र लाल बकैया खतराको सतहमा पुगेको छ।

बागमती नदीको बहाव ४५०० क्युसेक पुगेको छ। बागमती सिँचाइ ड्यामका ३६ वटै ढोका खुल्ला गरिएको प्रहरीले जनाएको छ। बागमती नदीका किनारमा तथा वरिपरि रहेका गाउँ घरमा बस्नेहरु उच्च सतर्कता अपनाउनु पनि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको छ।

यता, मौलापुर नगरपालिका–१ मर्यादपुर नजिक लालबकैया नदीको बाँध कटान गरेको छ। बाँध कटान भएसँगै त्यस क्षेत्रका स्थानीयले जोखिम बढेको बताएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार गौर बजार जलमग्न भएको छ।

प्रायः सरकारी कार्यलय डुबानमा छन भने सडकमा हिड्न सक्ने अवस्था नरहेको उनले बताए। यस क्षेत्रका मुख्य नदी पूर्वी भागमा बागमती र लालबकैयाले जलसतह पार गरेकाले नदी किनारका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको रौतहट प्रशासनले जानकारी दिएको छ।

अविरल बर्षासँगैको हावाहुरीले चन्द्रपुर नगरपालिका वडा न २ मा पर्ने चन्द्रनिगाहपुर–बाग्मती खण्डमा रुख ढलेर अवरुद्ध बनेको यातायात सञ्चालनमा आएको छ।

सुरक्षाकर्मीले रुख पन्छाएपछि गाडी चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।