काठमाण्डु – प्रदेश १ र प्रदेश ३ को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ ।
प्रदेश १ को दिउँसो २ बजे र बागमती प्रदेशको दिउँसो ३ बजेबाट सुरु हुने बैठकमा नेकपा विभाजन भएसँगै दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध गरिएको अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूचि थियो । तर दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेका अविश्वासको प्रस्ताव आजको बैठकमा पेश नहुने भएका छन् ।
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव आजको बैठकमा पेश नहुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । बैठकका अन्य एजेण्डा भने कार्यव्यवस्था समितिले तय गर्नेछ । तर नेकपा ओली र प्रचण्ड–माधव समुहका प्रदेशसभा सदस्यहरु आजको बैठकमा आ–आफ्नै रणनीतिका साथ बैठकमा आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा छन् ।
त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पनि तत्काल प्रदेशसभा बैठकमा पेस नहुने भएको छ । प्रदेशसभाको कार्यसूची तय गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्तावसम्बन्धी कार्यविधि निर्माण गरेर मात्रै अघि बढ्ने निर्णय गरेपछि सो प्रस्तावमा छलफल नहुने भएका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि ओली पक्षले प्रचण्ड–माधव पक्षका १६ सांसदलाई संसदीय गतिविधिमा संलग्न हुन नदिने निर्णय गरेको थियो भने प्रचण्ड–माधव पक्षले ८ जना सांसदलाई कारवाही गरेको थियो । दुवै पक्षको संसदीय दलको बैठकले एक अर्कालाई निलम्बनको घोषणा गरेपछि प्रदेश १ र वागमती प्रदेशमा तनाव सिर्जना भएको छ ।




प्रतिक्रिया