बाग्मती र प्रदेश २ स्तरीय भूतपूर्व ‘सैनिक सम्मेलन–२०७७’ सम्पन्न


काठमाण्डु – प्रदेश न.२ र बाग्मती प्रदेश स्तरीय नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७७ सम्पन्न भएको छ ।

सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा प्रदेश नं. २ र बाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ महोत्तरीको बर्दिवासस्थित मध्य पूर्वी पृतना हे.क्वा.मा आयोजना भएको ‘प्रदेश स्तरीय भू.पू. सैनिक सम्मेलन–२०७७’ सम्पन्न भएको हो ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले दिप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेका थिए । यस सम्मेलनमा प्रदेश २ को ५ र बाग्मती प्रदेशको ५ गरि जाम्मा १० वटा जिल्लाहरुमा बसोबास गर्ने ७३१७ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।

उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरे । यस प्रकारको कार्यक्रमले भू.पू. तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताएका थिए ।

सम्बोधनकै क्रममा उनले नेपाली सेनाको ‘कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७’ कार्यान्वयन भएको उल्लेख गर्दै नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरुलाई विकेन्द्रिकृत, पारदर्शी एवम् परिणाममुखी र आत्मनिर्भर बनाउँदै हिताधिकारीहरुको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत सहितका कल्याणकारी कार्यक्रमहरु तय गरी कार्यान्वयन प्रारम्भ भएको बताए ।

सोही दौरान उनले नेपाली सेनाले बहालवाला सकलदर्जा तथा अवकाश प्राप्त हिताधिकारीहरुको लागि कोभिड–१९ बिरुद्धको खोप उपलब्ध गराउने तर्फ पहलता थालिएकोबारे जानकारी गराएका थिए ।

उनले नेपाल सरकारको मापदण्ड अनुरुप नेपाली सेनाको पहलतामा भू.पू सैनिक, एकल महिला तथा आश्रित परिवारहरुलाई खोप लगाउने कार्य थालनी गरिएको र अन्य हिताधिकारीहरुलाई समेत क्रमशः खोप लगाउने अभियानमा सरिक गराउँदै जाने बताए ।

सो कार्यक्रममा जेष्ठ भूतपूर्व सैनिक ९१ वर्षका बर्दिवास न.पा. कालापानी ३ निवासी गनर रुद्र बहादुर बस्नेत (अ.प्रा) र शम्सेरदल गणबाट अवकास प्राप्त स्वर्गीय सु. लोक बहादुर थापा (अ.प्रा.) को श्रीमती लिखु तामाकोशी गा.पा., दुरागाउं निवासी वर्ष ९८ की जेष्ठ एकल महिला श्रीमती सुमित्रा थापालाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल सिन्धुली जिल्ला कमलामाई न।पा।का हु राम बहादुर विश्वकर्मा (अ.प्रा.) लाई सम्मान गरिएको थियो ।

उक्त समारोहमा ४ वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने २८ जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा असक्त ४ जनालाई व्हिल चेयर, बैसाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशिल कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यस प्रकारको सम्मेलनले अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुका साथै सम्मानपूर्ण सामाजिक जीवनमा स्थापित भई सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement