वागमती प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री पौडेलले गरे प्रतिपक्षसँग वार्ता

वागमती प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री पौडेलले गरे प्रतिपक्षसँग वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वागमती – वागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो ।

सचिवालयका अनुसार आज स्थगन बैठक आइतबार साढे ११ बजे बस्ने छ । आव २०७८/८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् । आजको बैठक पनि अवरुद्ध हुने देखेर स्थगन गरिएको हुनसक्ने सत्तापक्षका एक प्रदेशसभा सदस्यले बताए ।

प्रदेशसभाको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री पौडेलको प्रतिपक्षसँग वार्ता

वाग्मती प्रदेश सरकारले बजेट पास गर्नका लागि दलीय सहमति जुटाउन प्रयास थालेको छ । सहमतिका लागि मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रतिपक्षी दलका नेतासँग वार्ता गरेका हुन् । उनले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँसँग आज छलफल एवं वार्ता गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सभामुख सानुकुमार श्रेष्ठ र नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाको समेत सहभागिता रहेको छलफल सकारात्मक रहेको जनाइएको छ । छलफलले प्रदेशसभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेशसभाको बैठक विना अवरोध सञ्चालन हुने मुख्यसचेतक निरौलाले जिकिर गरे । बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।