काठमाण्डु – नेकपा एमाले बागमती प्रदेशले नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई पक्राउ गर्न माग गरेको छ । एमाले वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले विज्ञप्ति जारी गर्दै सांसद बैधलाई तत्काल प्रदेश सभाबाट निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् ।
’एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु । हत्या जस्तो गम्भीर अपराधको वकालत गर्ने सबैलाई कानुनको दायरामा ल्याउन अनुरोध पनि गर्दछु,’ अध्यक्ष पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
ओलीविरुद्ध केही दलका नेता तथा कार्यकर्ताहरूले भौतिकरुपमा सफाई गर्न सक्ने सुचना आफूहरूलाई प्राप्त भएको समेत बताउँदै अध्यक्ष पोखरेलले यसबारे आफूहरूले सुक्ष्म अध्ययन समेत गरिरहेको खुलासा गरेका छन् ।
शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए । वैद्यको उक्त विवादास्पद अभिव्यक्तिप्रति चौतर्फी विरोध भइरहेको छ ।




प्रतिक्रिया