काठमाण्डु– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।
बानियाँले सोमबार नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।
आजै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई औपचारिक रूपमा मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि यो राजनीतिक परिवर्तन सम्भव भएको हो।
बानियाँले नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको समर्थनपत्रसहित दाबी पेश गरेका थिए।
मुख्यमन्त्रीमा नियुक्तिपछि बानियाँले आज साँझ पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। बानियाँको नियुक्ति ३ बजे र शपथ ग्रहण ४ बजेका लागि तय गरिएको छ ।
शपथपछि नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया सुरु हुने बताइएको छ। बागमती प्रदेशमा हाल मुख्यमन्त्री कार्यालयसहित १४ वटा मन्त्रालय रहेका छन्।
यता एमालेले ६ मन्त्रीको टुङ्गो लगाएको छ । एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउँदै छ । श्रम, रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, वन तथा वातावरण मन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा डा, दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा बिन्दु श्रेष्ठ रहने छन् ।
यस्तै किरण थापा मगर स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा दोहोरिने स्रोतले जानकारी दियो । एमालेका तर्फबाट मन्त्रीले पनि आजै शपथ ग्रहण गर्ने छन् ।




प्रतिक्रिया