काठमाण्डु – मन्त्रालयको सङ्ख्या घटाएपनि बागमतीमा ६ जनालाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।
बागमती प्रदेश सरकारले १४ बाट घटाएर ८ मा कायम गरेपनि सत्ता समीकरणलाई सन्तुलन बनाउनमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ८ जना विभागीय मन्त्रीका साथै ६ जनालाई कुनैपनि मन्त्रालयको जिम्मेवारी नदिएर कायमै राखेका हुन् ।
शुक्रबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाएर ८ वटा बनाइएको छ । प्रदेशमा मन्त्रालय घटाउने वैशाख २२ को निर्णय कार्यान्वयन गर्दै नयाँ आर्थिक वर्ष सुरु भएको दिनदेखि सरकारले प्रदेशमा ८ मन्त्रालय कायम राखेको हो । मन्त्रालयको सङ्ख्या घटे पनि मन्त्रीको सङ्ख्या भने १४ नै रहेको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी आफैँसँग राखेका छन् भने अन्य ८ मन्त्रालयको जिम्मेवारी विभिन्न मन्त्रीहरूलाई तोकिएको छ। तर उनले ६ जना मन्त्रीलाई कुनैपनि मन्त्रालयको जिम्मेवारी भने दिएका छैनन् ।
मन्त्रालयको सङ्ख्या घटाइएपछि मन्त्रिपरिषद्को नयाँ कार्यविभाजन भएको छ । मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को नयाँ कार्यविभाजन स्वीकृत गरेका हुन् ।
नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी, आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिँचाइ, भौतिक पूर्वाधार विकास, कृषि, पशुपन्छी, वन तथा वातावरण, स्वास्थ्य तथा सामाजिक विकास तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम भएका छन् ।
मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी आफूसँग राख्दै अन्य मन्त्रालयहरूको जिम्मेवारी तोकेका छन् । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारीलाई दिइएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालय प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय कृष्णकुमार तामाङ, भौतिक पूर्वाधार विकास मन्त्रालय डा. दिनेशचन्द्र देवकोटा, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय मधुसूदन पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय कञ्चनचन्द्र बादे तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बिन्दु श्रेष्ठलाई तोकिएको छ ।
नयाँ संरचनामा आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय सम्हालिरहेका प्रभात तामाङ, डा. दिनेशचन्द्र देवकोटा र कृष्णकुमार तामाङले आफ्नो जिम्मेवारीलाई निरन्तरता पाएका छन् ।
तर मन्त्रालयको सङ्ख्या घटेपनि ६ जना मन्त्री भने विना विभागीय छन् किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र विनु रायमाझी पौडेल बवना विभागीय मन्त्रीको रूपमा जिम्मेवारी दिइएको छ ।
उनीहरूले सम्बन्धित क्षेत्रका अन्य प्रशासनिक तथा नीतिगत काममा अतिरिक्त जिम्मेवारी निर्वाह गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री कार्यालयका अनुसार मन्त्रालय पुनर्संरचना, कर्मचारी समायोजन र सचिव व्यवस्थापनको प्रक्रिया टुंगिएपछि ती मन्त्रीहरूकाजिम्मेवारी आवश्यकताअनुसार पुनः मिलान गरिनेछ ।
मुख्यमन्त्री बानियाँले बाँकी रहेका ६ जना मन्त्रीलाई मुख्यमन्त्रीकै मातहतमा रहेर तोकिएको विशेष जिम्मेवारी पूरा गर्ने गरी व्यवस्था मिलाइएको बताए ।
प्रदेश कर्मचारीहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणका केही काम बाँकी रहेकाले ती काम सम्पन्न नभएसम्म अस्थायी व्यवस्था गरिएको बानियाँले बताए ।
मन्त्रालयको सङ्ख्या घटेपछि प्रशासनिक खर्चमा कमी आउने र कार्यसम्पादनमा प्रभावकारिता बढ्ने मुख्यमन्त्री बानियाँले बताए ।




प्रतिक्रिया