काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले शपथ लिएको एक हप्तामै दल बदले पछि सरकार अल्पमतमा परेको हो ।
मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका थिए ।
मन्त्री खनालले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ दल दर्तामा सनाखत गरेका छन् । सामाजिक विकास मन्त्री खनालसंगै एमालेका सांसद राजेन्द्र पाण्डेले माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) रोजेपछि शाक्य नेतृत्वको सरकार संकटमा परेको छ ।
अर्का सांसद मुनु सिग्देलले पनि नेकपा (एकिकृत समाजवादी) पार्टी रोज्ने भएकी छन् । उनले आफूले बुधबार सनाखत नगरेपनि नेकपा (एकिकृत समाजवादी) मै रहेको बताइन् ।
निर्वाचन आयोगले दिएको २१ दिनको समयभित्र आफुले दल रोज्ने उनको भनाइ छ । १ सय ९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेसँग ५३ जना मात्रै सांसद रहेका छन् ।
बहुमतका लागि एमालेलाई ५५ जना सांसदको आवश्यकता पर्दछ । ‘म लगायत ३/४ जना केन्द्रीय सदस्यले हिजो सनाखत गरेनौं ।आज आयोगले दल रोज्ने समय दिएको छ । सो समयमा हामी (एकिकृत समाजवादी) मा रहन्छौं,’ सिग्देलले भनिन् ।
सांसद सिग्देलले विपक्षी दलहरु नोपली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुसँग मिलेर नयाँ सरकार गठनका लागि आवश्यक तयारी गर्ने बताइन् ।
‘भर्खरै दल दर्ता भएको छ । कसले कुन दल रोज्नुहुन्छ । अनि बैठक बसेर अन्य दलहरुसँग पनि छलफल गर्छौं र नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भनिन् ।
नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का सांसद सुरेन्द्रराज गोसाईले दलहरुबीचको कुर्सीको भागबन्डाले प्रदेशमा अस्थीरता निम्तिएको बताए । उनले यसअघि पनि आफूहरुले दुई तिहाईको दम्भ नदेखाउन र विकास निर्माणका कार्यमा ध्यान दिन सचेत गराएको स्मरण गरे ।
‘हामीले यसअघिको सरकारलाई पनि दुई तिहाईको दम्भ नदेखाउन पटकपटक आग्रह गरेका थियौं । दलहरुबीच पदको झगडा, जनतामा सेना छैन्,’ सांसद गोसाईले भने ।
उनले कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा खोपको व्यवस्थापन गर्नुपर्ने अवस्थामा सरकार परिवर्तनको खेलले जनतामा नैरास्यता उत्पन्न भएको बताए ।
‘संकटको बेला खोप व्यवस्थापन छैन् । पाँच वर्षको समय पाएको सरकार अस्थीर बनेको छ । पार्टी फुटाउने, सरकार गठन गर्ने काम मात्रै भएको छ,’ सांसद गोसाईले भने ।
वागमती प्रदेशमा माओवादीका २३, कांग्रेस २२ जना, विवेकशील साझाका ३, मजदुर किसान पार्टीका २, राप्रपाका २ र स्वतन्त्र १ सांसद छन् ।
मन्त्रिमण्डलले पूर्णता नपाउँदै अल्पमत
गत भदौ २ गते डोरमणी पौडेलले पार्टी एकतालाई जोगाउन भन्दै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । शाक्यलाई एमाले संसदीय दलको नेतामा चयन गर्दै पौडेलले राजीनामा दिएका हुन् । सोही दिन शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।
नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी शाक्य शपथ लिएको ८ पनि बित्न नपाउँदै अल्पमतमा परेकी हुन् । उनी नेतृत्वको मन्त्रिमण्डलले पूर्णता नपाउँदै सरकार अल्पमतमा परेको हो । शाक्य नेतृत्वको सरकारमा रहेका सामाजिक विकास मन्त्री कृष्ण खनालले (एकिकृत सामाजवादी) पार्टी रोजेका छन् । मुख्यमन्त्री शाक्य नेतृत्वको मन्त्रिमण्डलमा हाल दुई जना मात्रै मन्त्रि छन् ।
मुख्यमन्त्री शाक्यसँग आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय छन् । केशव राज पाण्डे आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास र कृष्ण खनाल आन्तरिक मामिला मन्त्री छन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्री खनाललाई बर्खास्त गर्ने तयारी गरेकी छन् । स्रोतकाअनुसार दल परिवर्तन गरेसँगै खनाललाई हटाउने तयारी भएको हो ।
आन्तरिक मामिलामन्त्री केशव राज पाण्डेले दल परिवर्तन गरेको मन्त्रीलाई हटाउने अधिकार मुख्यमन्त्रीलाई भएको बताए ।
‘दल परिवर्तन गरेका मन्त्रीलाई हटाउने अधिकार मुख्यमन्त्रीलाई हुन्छ,’ उनले काठमाण्डुपाटीसँग भने ।




प्रतिक्रिया