काठमाण्डु – नेकपा एमालेले बागमती प्रदेशमा बहुमतको सरकार निर्माण प्रक्रिया अगाडि बढाएको छ । माधव नेपालले नेकपा (एकीकृत समाजवादी ) पार्टी दर्ता गरेपछि अल्पमतमा परेकाे बागमती प्रदेशकाे सरकार जोगाउन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्तिम कसरत सुरु गरेकी हुन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले प्रदेश सरकार जोगाउन आफूहरुले अन्तिम कसरत जारी राखेको जानकारी दिए । उनले प्रदेशसभामा बहुमत जुटाउनका लागि अन्य दलहरुसँग छलफल अगाडि बढाएको बताए । प्रदेशसभामा एमालेले बहुमत पुर्याएपछि मुख्यमन्त्रीले विश्वासकाे मत लिनेसमेत उनले बताए ।
‘हामी संवैधानिक प्रक्रियाअनुसार अगाडि बढ्छौं । केन्द्रमा एमाले विभाजित भए पनि प्रदेशमा भएका छैनौं । केही व्यक्तिहरु विभाजनको पक्षमा भएपनि अधिकांश साथीहरु हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘हामीले बहुमत जुटाउने प्रयास गरेका छौं । यदी त्यसो भएन भने संविधानमा भएको व्यवस्थाअनुसार सरकारले अर्को प्रक्रिया अपनाउँछ । ’
विपक्षी दलहरु कांग्रेस, माअोवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग सरकार बनाउन बहुमत नपुग्ने भन्दै प्रमुख सचेतक निरौलाले संसदीय अभ्यासमा रहेर अगाडि बढ्ने बताए ।
उनले मन्त्रालय फुटाएर अन्य दलहरुलाई सरकारमा सहभागी गराउने तयारी भएको बताए । प्रमुख सचेतक निरौलाले सुदूरपश्चिममा जस्तो संविधानमा नभएको विषयलाई प्रयोग नगर्ने भन्दै संयुक्त सरकार बनाउँदा मन्त्री र मन्त्रालयको संख्या २२ सम्म पुग्ने बताए ।
‘प्रतिपक्षी दल मिलेर पनि नयाँ सरकार बन्दैन । हामी संसदीय अभ्यासमा रहेर अगाडि बढ्छौं । अन्य दलहरुसँग मिलेर प्रक्रिया अगाडि बढाउँछौं । संविधानले २२ वटा सम्म मन्त्रालय बनाउने अधिकार दिएको छ,’ उनले भने, ‘हामी सुदूरपश्चिममा जस्तो संविधानमा व्यवस्था नभएको अधिकार प्रयाेग गर्दैनौं । संयुक्त सरकार बनाउँदा मन्त्री र मन्त्रालयको संख्या बढ्न सक्छन ।’
साथै प्रमुख सचेतक निरौलाले माधव नेपालको नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउन सकिने बताए । उनले एमाले विभाजन नहुँदा राजेन्द्र पाण्डेले अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउन सहमत भएको बताउँदै उनलाई वरिष्ठ मन्त्री दिएर नेपाल पक्षलाई समेट्ने प्रयास गर्ने बताए ।
‘नेकपा एमाले विभाजन अघि राजेन्द्र पाण्डेले डोरमणीलाई हटाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्रीमा समर्थन गर्नुभएको थियो । आज उहाँले बनाएको दलले हामीसँग आए सरकार बनाउन सकिन्छ । उहाँलाई वरिष्ठ मन्त्री दिएर हामी माधव नेपाल पक्षलाई पनि समेट्ने प्रयास गर्छौं,’ प्रमुख सचेतक निरौलाले भने ।
उनले पार्टीले १० बुँदे सहमति कार्यान्वयन गर्न चार सदस्यीय टोली बनाएको बताउँदै कम्युनिष्ट आन्दोलनको रुपमा एमाले अगाडि बढ्ने बताए । प्रमुख सचेतक निरौलाले माधव नेपालको पक्षमा खुलेका स्थानीय सरकारका जनप्रतिनिधिहरुले पनि एमाले रोजेको दाबी गरे ।
‘पार्टीले निर्णय गरेर अगाडी बढेको छ । १० बुँदे कार्यान्वयन गर्न चार सदस्यीय टोली पनि बनाएको छ । कम्युनिष्ट आन्दोलनको रुपमा एमाले अगाडि बढ्छ । स्थानीय सरकार हिजो माधव नेपाल भन्नेले पनि एमाले रोज्नुभएको छ,’ उनले भने ।
वागमती प्रदेशसभामा एमाले ५६, माओवादी केन्द्र २३, नेपाली कांग्रेस २२, विवेकशील साझा ३, नेपाल मजदुर किसान पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र जसपाका एक जना सांसद रहेका छन् ।




प्रतिक्रिया