मोफसलमा बढ्दै चलचित्र गतिविधि


काठमाण्डु – चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यकामा केन्द्रित छन् । चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन् ।

प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाण्डु केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर भने कास्कीको पोखरामा हुने भएको छ ।

मोफसलका विभिन्न सहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारका लागि गर्ने यस्ता गतिविधि निकै कम छन् । चलचित्र निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल तथा लेखक(निर्देशक प्रमोद कँडेलको सहभागितामा पोखरामा प्रिमियर हुने जानकारी दिए ।

“मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोच बनायौँँ । उपत्यका बाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रमलाई विस्तारै बढाउँदै लैजानु पर्छ”, निर्माता पौडेलले भने । चलचित्र ‘बहाव’ को प्रिमियर काठमाडौँमा भने बुधबार सम्पन्न भइसकेको छ । पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्देशक कँडेलले बताए ।

“फरकरूपमा तयार गरेको प्रयासबाट सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु । यसमा हामीले अहिलेको पुस्ताको मनोविज्ञान, समाज र परिवारले राख्ने अपेक्षालाई प्रस्तुत गरेका छौँ”, उनले भने । निर्माता पौडेलकै अग्रसरतामा केही वर्ष अगाडी ‘लुकामारी’ को प्रिमियर पोखरामा गरिएको थियो ।

गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’को काठमाडौँसँगै चितवन र इटहरीमा प्रिमियर गरिएको थियो । निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलको मागलाई ध्यानमा राख्दै प्रिमियर गरिएको बताए । “हामीले मोफसलमा व्यापार भएन भन्छौँ ।

अझैँ कोशी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन । त्यहाँ बजार विस्तार गर्नका लागि पनि प्रिमियर गरेका थियौँ”, निर्माता बानियाँले भने, “प्रिमियर, पत्रकार सम्मेलनलगायत गतिविधिले स्थानीयरूपमा प्रचारप्रसार हुन्छ । मोफसलबाट पनि लगानी उठाउन मद्दत पुग्छ ।” आफ्नो आगामी चलचित्र ‘महाजात्रा’लाई काठमाडौँ मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा छन् । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement