शरणार्थी प्रकरणः पाँच प्रतिवादीका वकिलको वहश, थुनाबाहिरै राखेर पुर्पक्षको माग

शरणार्थी प्रकरणः पाँच प्रतिवादीका वकिलको वहश, थुनाबाहिरै राखेर पुर्पक्षको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जिल्ला अदालत काठमाण्डुले आज पाँच प्रतिवादीको थुनछेक बहस सकेको छ । यो प्रकरणका मुख्य योजनाकार भनिएका सानु भण्डारी र टंक गुरूङका वकिलले थुनछेक बहस सकेका छन् । त्यस्तै सन्देश शर्मा, सागर राई र इन्द्रजित राईको पनि थुनछेक बहस सकिएको हो । भोलि पनि बाँकी प्रतिवादीको तर्फबाट बाँकी बहस हुनेछ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाउने, नक्कली शरणार्थीबारे निणर्य गराउन गृहमन्त्रीदेखि गृह मन्त्रालयको संयन्त्रलाई प्रभावित पार्ने, सर्वसाधारणलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्ने प्रलोभनमा पारेर पैसा उठाउने उक्त पैसा हाइप्रोफाइललाई काम गरिदिएबापत बाँड्ने लगायतका काममा भण्डारी संलग्न भएको आरोप छ ।

उनले भुटानी शरणार्थी समस्या समाधान गर्ने समिति बनाउनका लागि भूमिका खेलेको, उक्त समिति बनाइसकेपछि सानु भण्डारी र केशव दुलालसँग पैसा लिएको, उनीहरूसँग मिलेर काम गरेको लगायतका आरोप सरकारी वकिलले लगाएको छ ।

जिल्ला अदालत काठमाण्डुमा चलिरहेको थुनछेक बहसमा आज उनका तर्फबाट बालकृष्ण ढकाल, प्रेमबहादुर खत्री, दिलकुमारी राईलगायतका वकिलले बहस गरेका थिए ।

सन्देश शर्मा, टंक गुरूङ र सागर राई पनि सानु भण्डारी र केशवसँग मिलेर नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सर्वसाधारणसँग पैसा उठाउने काममा संलग्न रहेको आरोप छ । सानु र टंकका तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए।

सागर राईका तर्फबाट अधिवक्ताहरू प्रकाश पौडेल, विनोद कार्की, सन्तोष प्रसाद भट्ट र इन्द्र पोखरेलले बहस गरेका थिए। सन्देश शर्माको प्रतिरक्षा भने अधिवक्ताहरू यज्ञ खतिवडा, गोपालराज अर्याल, दिपकराज रेग्मी, सुशीला कार्की र मंगल महर्जनले बहस गरेका थिए । सबैले आफ्ना पक्षहरूलाई लगाइएको अभियोग पुष्टि हुने आधार नभएकाले थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गरिपाऊँ भन्ने माग गरेका छन् ।