माथिल्लो तामाकोसीले वैशाख ३१ बाट ७६ मेगावाट विद्युत उत्पादन सुरु गर्ने

माथिल्लो तामाकोसीले वैशाख ३१ बाट ७६ मेगावाट विद्युत उत्पादन सुरु गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले यही वैशाख महिनाभित्रै ७६ मेगावाट विद्युत उत्पादन सुरु गर्ने भएको छ ।

संसद्को अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युतु उत्पादन सुरु हुने बताए ।

उनले वैशाख मसान्तभित्रै पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काममा तीव्रता दिइएको जानकारी दिए । ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको छ, वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ,’ उनले भने, ‘बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थप्दै लैजान्छौँ ।’

उनले पूर्ण क्षमतामा भने आगामी भदौमा मात्रै विद्युत् उत्पादन हुने बताए । ‘रन अफ रिभर’ माथिल्लो तामाकोसीको कुल क्षमता ४५६ मेगावाट हो । ‘हामी वैशाखभित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौसम्म हरेक महिना थप ७६ मेगावाट थप्दै कुल ४५६ मेगावाट विद्युत् सिस्टममा ल्याउँछौँ,’ उनले भने ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जेठ २ बाट माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन सुरु गर्ने तालिका रहे पनि वैशाख ३१ गते नै पहिलो युनिटबाट उत्पादन सुरु गरिने बताए ।

वैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहे पनि एक–दुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिनपछि विद्युत् उत्पादन सुरु हुँदा वैशाख ३१ गते सम्भव हुने उनले बताए ।

‘वैशाख २० गते पहिलो मेसिन घुमाउँछौँ, त्यसमा पनि सबै कुराले साथ दियो भने एक–दुई दिन अगाडि आउन सक्छ । तर, अहिले २० गते भनेका छौँ । त्यसपछि उत्पादन सुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो । तर, त्यसलाई पनि हामीले स्वीच गरेर वैशाख ३१ गते आशा गर्दैछौँ,’ उनले भने, ‘अहिलेको तालिकाअनुसार जेठ २ गतेको छ । त्यस हिसाबले पहिलो युनिट आइसके पछाडि असार मसान्तसम्म चारवटा युनिट आउँछ र साउन मसान्तसम्ममा बाँकी दुईवटा युनिट गरेर ६ वटा युनिट बाट उत्पादनत सुरु हुन्छ ।’