काठमाण्डु – जिल्लाप्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टले न्याय पाउने बताएका छन् ।
उनले भागरथी हत्याको १३ दिने लामो अनुसन्धान सफल भएको भन्दै अब पीडितले न्याय पाउने बताएका हुन् ।
‘हाम्रो मिसन अपराधमा संलग्नलाई पक्राउ गर्ने, कानुनी कठघरामा उभ्याउने र पीडितलाई न्याय दिने थियो । पक्राउ गर्यौं। अब, पीडितले न्याय पाउँछिन्,’ डीएसपी अधिकारीले भने ।
प्रहरीले भागरथीको हत्या आरोपमा सनातन धर्म मा.वि. को कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई मंगलबार राति पक्राउ गरेको छ । सोही विद्यालयको कक्षा १२ मा भागरथी अध्ययन गर्थिन् ।
प्रहरीले दिनेशलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । गत माघ २१ गते भारगरथीको बलात्कारपछि हत्या भएको थियो । उनको शव विद्यालयदेखि घर फर्किंदा बाटोमा पर्ने लबुलेक सामुदायिक वनमा सडकदेखि करिब ५० मिटर तल भोलिपल्ट फेला परेको थियो ।
साथै लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासी र गाउँपालिकाले सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर विदाई गरेका छन् ।
भागरथीहत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, बैतडीका प्रमुख डीएसपी अधिकारी लगायत थिए ।
घटनाको अनुसन्धानगर्न डीआईजी सुवेदीसहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्तालगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्याएर प्रहरी टोलीलाई विदाई गरेको दोगडाकेदार गाउँपालिका–३, का वडा अध्यक्ष चन्द्रदेव जोशीले जानकारी दिए ।




प्रतिक्रिया