जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना


बैतडी – सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ । कोरोनाका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।

उनले भने, “हामीले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरेका छौँ ।”जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना भएपछि सञ्चालनमा भने समस्या हुने भएको छ । आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताए ।

आइसियु सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आइसियु सञ्चालनमा समस्या आउने देखिएको छ । उनले भने, “आइसियु कक्ष स्थापना भयो तर त्यसमा काम गर्ने विशेषज्ञको अभाव हुँदा सञ्चालनमा समस्या छ ।”

यस्तै जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई पनि आइसियु सञ्चालनका लागि तालीमको आवश्यकता पर्ने र त्यो तालीम कसैले पनि लिएको छैन । कोरोनाका गम्भीर बिरामीलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापनाका लागि उपकरण पठाएको थियो । उपकरणसँगै दक्ष जनशक्ति पनि आवश्यक पर्ने भए पनि दक्ष जनशक्ति नपठाउँदा आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ ।

बैतडी जिल्लाभरि हालसम्म ५६९ मा कोरोना पुष्टि भएकोमा एकको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाभरि हाल ६४ सक्रिय सङ्क्रमित रहेकोमा ५०४ जनाले कोरोना जितिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement