काठमाण्डु- संघीय संसद्को बजेट अधिवेशन आज (सोमबार)देखि सुरु हुँदैछ । आज बस्ने संघीय संसद्का दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए।
राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रमसमेत संसद्मा प्रस्तुत गर्नेछन्।
नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ।
बैठकमा दिउँसो ३ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्नेछन् ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची तय गरिएको छ।
सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ ।
यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुनेछन् ।




प्रतिक्रिया