काठमाण्डु – असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइएको छ ।
हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालय बझाङले जिल्लामा एचआईभी एड्स तथा अन्य स्वास्थ्यसंग सम्बन्धि कार्यक्रम संचालन गर्ने साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा अन्तर्रक्रिया कार्यक्रम गरि विश्व एड्स दिवस मनाएको हो ।
स्वास्थ्य कार्यालय बझाङको तालिम हलमा संचालित उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल बझाङ, बझाङ प्लस, सुआहारा एनएपीएनका प्रमुख तथा प्रतिनिधिहरु र एचआईभीबाट संक्रमित भई यसै क्षेत्रमा कार्यरत अगुवाहरुको उपस्थिति रहेको थियो ।
स्वास्थ्य कार्यालयका एचआईभी एड्स सम्पर्क व्यक्ति नारायण जोशीका अनुसार राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्क बमोजिम बझाङमा २२१ जना अनुमानित संक्रमित रहेका छन् ।
उनका अनुसार २०७८ कार्तिक मसान्तसम्म जिल्ला अस्पतालमा रहेको आर्ट सेन्टरमा दर्ता भएका जम्मा १३० जना संक्रमितहरु मध्ये ८२ जनाले नियमित औषधि उपचार तथा परामर्श सेवा लिईरहेका छन भने हालसम्म जिल्लामा एड्सबाट मृत्यु हुनेको सख्या ३२ जना रहेको पाईएको छ ।
त्यसैगरि १२ जनालाई उपचारका लागि पाएक पर्ने अन्य जिल्लामा स्थानान्तरण गरिएको र ६ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्क बाहिर रहेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । अझै पनि एचआईभी संक्रमितप्रति सामाजिक भेदभाव, लाञ्छना, असमानता यथावत रहेको हुँदा संक्रमितहरु समुदायमा खुल्न सकेका छैनन् ।




प्रतिक्रिया