काठमाण्डु – सुदूरपश्चिमको हिमाली जिल्ला बझाङमा जनसंख्या थोरै छ । तर, स्थानीय तहको संख्या भने धेरै छ । जिल्लामा दुई नगरपालिकासहित १२ वटा स्थानीय तह छन् । सबैभन्दा सानो पालिका साइपालमा त मतदाता करिब १४ सय मात्रै छन् । जिल्लामा एमाले सबैभन्दा ठूलो दल हो ।
अघिल्लो चुनावमा उसले आठवटा स्थानीय तहमा आफ्नो झन्डा गाडेको थियो । बाँकी चारवटामा कांग्रेसले प्रमुख जित्यो भने माओवादीले कुनै पनि तह जितेन । तर, एउटै तह नजिते पनि जिल्लामा निर्णायक भने माओवादी नै देखिन्छ । एमालेले जयपृथ्वी नगरपालिकाको मेयर–उपमेयर तथा केदारस्युँ, छबिसपाथिभेरा, तलकोट, थलारा, दुर्गाथली, मष्टा र वित्थडचिर गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष नै जित्यो । उसले खप्तडछान्ना र सुर्मा गाउँपालिकाको उपाध्यक्ष पनि जित्यो ।
कांग्रेसले बुंगल नगरपालिकाको मेयर–उपमेयर तथा साइपाल गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष, खप्तडछान्ना र सुर्मा गाउँपालिकाको अध्यक्षमा मात्रै जित निकाल्न सक्यो । साइपालको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले समान ३ सय ९४ मत ल्याएर जितेका थिए । आगामी स्थानीय चुनावका लागि दलहरूले जिल्लामा उम्मेदवारी दर्ता गरेका छन् । गत चुनावको परिणाम हेर्दा सबै गाउँपालिकामा माओवादी निर्णायक देखिन्छ ।
एमालेले जितेका सबै पालिकामा कांग्रेस र माओवादीको मत मिलाउँदा विजयीको भन्दा बढी हुन्छ । त्यसैले बझाङमा आगामी परिणाम कस्तो होला भन्ने पनि गठबन्धनको कार्यान्वयनमा टिकेको छ । जिल्लाका सबै स्थानीय तहमा सत्तासाझेदार दलबीच तालमेलको निर्णय भएको छ । यदि तालमेल गतिलोसँग कार्यान्वयन भयो भने गठबन्धनले अधिकांश पालिका जित्ने सम्भावना देखिन्छ । भएन भने एमालेले पनि केही पालिकामा जित निकाल्न सक्छ ।
गठबन्धनका कारण एमालेको परिणाम कमजोर हुने लगभग निश्चित देखिएको छ । तर, उसले कति पालिका गुमाउँछ भन्ने तालमेलको कार्यान्वयनले तय गर्नेछ । जिल्लाका १२ स्थानीय तहमध्ये कांग्रेसले सात, एकीकृत समाजवादीले तीन र माओवादी केन्द्रले दुई पालिकामा नेतृत्व पाउने गरी सहमति गरिएको छ । यसअघि कांग्रेसले जितेका चार पालिकाबाहेक मष्टा, वित्थडचिर गाउँपालिका र जयपृथ्वी नगरपालिकामा कांग्रेसले प्रमुख पाउने भएको छ ।
यस्तै, एकीकृत समाजवादीको भागमा तलकोट, केदारस्युँ र थलारा गाउँपालिकाको प्रमुख परेको छ । माओवादी केन्द्रले दुर्गाथली र छबिसपाथिभेरा गाउँपालिकामा नेतृत्व पाएको छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीले पनि बझाङमा राम्रै संगठन बनाएको छ । त्यसैले यसपटक यहाँ एमाले सबैभन्दा ठूलो संकटमा देखिन्छ । उसले पहिले जितेकामध्ये कम्तीमा पाँचवटा पालिका गुमाउन सक्ने विश्लेषण गरिएको छ । जिल्लामा १ लाख २२ हजार १ सय ३७ मतदाता छन् । तीमध्ये ६१ हजार ३ सय ८९ पुरुष र ६० हजार ७ सय ४८ महिला छन् ।





प्रतिक्रिया