बाजुरा – महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।
पछिल्लो समय देशभर महिला तथा बालिकामाथि बढ्दो बलात्कार र हत्या हुँदै गएको घटनाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय महिला समूहहरूले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
आईतबार स्थानीय महिला समूह बाजुराले प्रमुख जिल्ला अधिकारी (सीडीओ) डोरेन्द्र निरौलामार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । तत्काल महिला तथा बालिकामाथि हुने हिंसा रोक्न माग समेत गरिएको छ ।
देशका विभिन्न स्थानमा महिला तथा बालिकामाथि हुने बलात्कार तथा हत्या घटनाले समाजको सुरक्षा संरचना र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा अहिलेको जल्दोबल्दो घटना सुर्खेतको वीरेन्द्रनगरमा १६ बर्षीय किशोरी इनिशा विकमाथि बलात्कारपछि हत्या गरिएको घटना, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनमा १२ वर्षीया बालिकामाथि फागुन २७ गते भएको सामूहिक बलात्कार लगायतका घटनाले महिलाको सुरक्षा चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।
बर्सेनि महिला र बालिकामाथि हुने यौनजन्य घटना विकराल बन्दै गएकोले यस्ता घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग समेत गरिएको छ ।
प्रत्येक दिन करीब ७ जना महिला तथा बालिका बलात्कारको शिकार हुने गरेको भन्दै पछिल्ला ५ वर्षमा ८ हजारभन्दा बढी बलात्कार र ३१ हजार बढी बलात्कार प्रयासका घटना दर्ता भएको तथ्यांक पनि पत्रमा उल्लेख छ ।
अपराधीलाई संरक्षण गर्ने दण्डहीनताको प्रवृतिले पीडित तथा प्रभावित परिवार र देश, समाजमा न्यायप्रतिको विश्वास घट्दै गएको उल्लेख गरिएको छ ।
यस्ता घटनाको निष्पक्ष छानबिन गरी मुलुकी अपराध संहितामा व्यवस्था भए अनुसार दोषीलाई हदैसम्मको कानूनी कारबाही गर्न माग गरिएको स्थानीय महिला समूहकी अध्यक्ष दुर्गा थापाले बताइन् ।
बलात्कार र हत्याहिंसा जस्ता घटनाले समाज आक्रान्त भइरहेको हुँदा दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिई हदैसम्मको कानूनी कारवाही गरिनुपर्ने उनले बताइन् ।
निर्मला पन्त, भागरथी भट्ट, एलिसा तामाङ, सम्झना कामीलगायत थुप्रै बालिका माथि बलत्कारपछि हत्या हुँदासम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको आरोप समेत लगाइएको छ ।
देशभर महिला तथा बालिका माथि हत्या, हिंसा र बलत्कार भइरहँदा पनि पीडितले न्याय नपाएकोप्रति दु:ख व्यक्त गरिएको छ ।
घटनामा संलग्न दोषीलाई कार्वाही गरि पीडित परिवारको सुरक्षा सुनिश्चित, न्यायमा सहज र सम्मानजनक पहुँच उपलब्ध गराउन सरकारसमक्ष माग गरिएको छ । यदि सरकारले माग नसुनेको खण्डमा सडकमा उत्रिने चेतावनी समेत दिइएको छ ।




प्रतिक्रिया