काठमाण्डु – सात महादेशमा सातदिन लगातार सञ्चालन हुने विश्व म्याराथन च्यालेञ्ज मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन् ।
अन्टार्कटिकाबाट शुरू भएर अमेरिकाको मियामीमा सम्पन्न हुने म्याराथनमा सहभागी हुने जोशी नेपाली मूलका एक्लो खेलाडी हुन् । वर्ल्ड म्याराथन च्यालेञ्ज माघ १७ देखि २३ गतेसम्म चल्ने छ । उनी ४२ दशमलव १९ किलोमिटर दूरी रहने म्याराथनका सात श्रृंखलामा २ सय ९४ किमी दूरी सात दिनमा दौडिने छन् । जोशी नेपाली पोसाक दौरा सुरुवालमा नेपाल र अमेरिकाको झन्डा बोकेर दौडिने बताइएको छ ।
वर्ल्ड म्याराथन च्यालेञ्ज सन् २०१५ देखि शुरू भएको हो । म्याराथनमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अस्ट्रिया, डेनमार्क, हङकङ, न्युजिल्यान्ड, रोमानियासहित ३० भन्दा बढी देशका ५४ धावक सहभागी हुनेछ ।
जोशी सन् २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिँदै आएका छन् ।
सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा बस्दैआएका छन् । उनी यसअघि विश्वका दुई दर्जनभन्दा बढी म्याराथन प्रतियोगितामा सहभागी भइसकेका छन् ।




प्रतिक्रिया