स्थानीय निर्वाचनका लागि तयारी अवस्थामा रहन गृहमन्त्री खाँणको निर्देशन

स्थानीय निर्वाचनका लागि तयारी अवस्थामा रहन गृहमन्त्री खाँणको निर्देशन


काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणले आगामी जेठ ४ गते हुने भनिएको स्थानीय तह निर्वाचन तयारी थाल्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन्। बुधबार दिउँसो गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तह निर्वाचनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायका प्रमुखलाई खाँणले निर्देशन दिएका हुन् ।

बैठकमा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्। आज बसेको बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था केन्द्रित भएर छलफल भएको पोखरेलले बताएका छन्।

बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले निर्वाचन गर्न आवश्यक सुरक्षा सामाग्री र सुरक्षा व्यवस्थाबारे बोलेका थिए ।